स्वागतम खबर
महेन्द्रनगर, चैत २१ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिईन्छ । यस्तै भोलि बिहान उदाउँदो सूर्य अर्थात दिनानाथलाई अघ्र्य दिएपछि चैती छठ विधिवत समापन हुनेछ ।
जनकपुरधामको गंगासागर, अर्गजासर, लगायत ग्रामिण क्षेत्रका पोखरी, नदी, जलाशयमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि जनकपुरधामको गंगासागर र अर्गजासर दुल्ही झै सजाइएको छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।
चारदिनसम्म अत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
आज सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै व्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अघ्र्य दने गर्दछन् । अघ्र्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
व्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ । कार्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाउनेको नभए भएपनि वर्षेनी संख्या बढ्दै गएको छ । केही वर्ष यता चैती छठ पर्व ग्रामिण भेगमा समेत उल्लास पूर्वक मनाउन थालिएको छ ।