स्वागतम खबर
जनकपुरधाम, चैत २१ ।
मधेश प्रदेशसभामा देखिएको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरूबीच आज तीन बुँदे सहमति जुटेको छ । बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले योजना सम्बन्धी चिठीको अनधिकृत वितरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेपछि प्रदेशसभाको गतिरोध अन्त्य हुने भएको छ । सहमति अनुसार सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने सहमति समेत भएको छ ।
सभामुख रामचन्द्र मण्डलले तीन बुँदे सहमति भएसँगै सदन पुनः सञ्चालनमा आउने जानकारी दिए। माओवादी केन्द्रका सांसद युवराज भट्टराईका अनुसार, योजनाका चिठी अनधिकृत ढंगले वितरण र कमिसनमा बिक्री गरिएको विषयमा चैत २७ गते सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भने सोही दिन संसदीय छानबिन समिति गठन गरिनेछ ।
यसैगरी, चैत २६ गतेदेखि प्रदेशसभा बैठक पुनः सञ्चालन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि योजनाका चिठीहरू अनधिकृत रूपमा बाँडफाँड गरिएकाले संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र नेकपा (माओवादी केन्द्र) ले सदन अवरुद्ध गरेका थिए । यसअघि दुई पटक सर्वदलीय बैठक भएपनि विना निष्कर्ष स्थगित भएको थियो ।