स्वागतम खबर
ढल्केवर चैत्र २३ ।
धनुषाको मिथिला नगरपालिकास्थित मिथिला उद्योग वाणिज्य संघ ढल्केवरले शनिवार तेस्रो वार्षिक साधारणसभा भव्यतापूर्वक मनाएको छ । संघका अध्यक्ष तेजनारायण साह (संतोष) को अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्यमा साधारणसभा मनाएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य महतोले उद्योगी व्यापारीहरुको हकहित र अधिकारका लागि स्थापित मिथिला उद्योग वाणिज्य संघ ढल्केवर उद्यागी, व्यापारीको पक्षमा कार्य गर्न क्रियाशिल हुनुपर्ने बताउनुभयो । विकासको नाउँमा पार्टीगत खिचातानीको राजनीति बढी भएकाले ढल्केवर व्यापारिक हिसावमा अघि बढ्न नसकेको यर्थात हो, मिथिला उद्योग वाणिज्य संघले सबैसँगको हातेमालोमा अब अघि बढ्नु पर्छ अनि मात्र यहाँको समग्र विकास सम्भव हुन्छ प्रमुख अतिथि महतोले भन्नुभयो । ढल्केवरको व्यापारलाई गति दिन यहाँकै उद्योगी, व्यापारी र स्थानीयबासीलाई एकढिक्का भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।
यता साधारणसभाका विशिष्ट अतिथि मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले मिथिला उद्योग वाणिज्य संघलाई व्यापारिक हितका कार्य गर्नु आग्रह गर्नुभयो । ढल्केवरको व्यापारलाई अन्यत्रको तुलनामा ग्राहकले मंहगो महसुस गरेकाले समानको मुल्यमा सन्तुलन कायम गर्न र उद्योगी व्यापारीको व्यवसाय प्रवद्र्धन गर्न संघले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो । वर्षादेखि ढल्केवरको व्यापार फष्टाउनुका साटो खस्किदै गएको अवस्थालाई गहन विश्लेषण गर्दै अघि बढेमा मात्र यहाँको व्यापारिक विकास सम्भव हुने उहाँको तर्क थियो । मिथिला नगरपालिकाको व्यापारिक विकासा लागि संघले खोजेमा हरेक पाटोमा नगरपालिकाले हातेमालो र सहयोग गर्न तयार रहेको नगर प्रमुख महतोले बताउनुभयो । नगरभरिमा व्यापार गर्नेको संख्या दिनदिनै बढ्दो क्रममा रहेको भएपनि यहाँको संघमा व्यापारीको आबद्धता नबढ्नुको कारण खोज्दै, समिक्षा गर्दै कुनै राजनीतिक दुराभाव नराखी उद्योगी व्यवसायीको हितमा संघलाई कार्य गर्न उहाँले सुझाव समेत दिनुभयो ।
साधारणसभाको उद्घाटन सत्रलाई समापन गर्दै संघका अध्यक्ष साहले उद्योगी व्यापारीको हितमा आफुहरु कार्य गर्न दृढ रहेको बताउनुभयो । अगामी दिनमा यहाँका सबै उद्योगी व्यापारीलाई संघको सदस्यता लिएर जुड्न आग्रह गर्नुभयो । संघको तेस्रो वार्षिक साधारणसभाको बन्द सत्रबाट नयाँ पदाधिकारी चयन हुने उहाँले जानकारी समेत दिनुभयो ।
हाल मिथिला नगरपालिका क्षेत्रमा साना ठुला गरी १९ वटा उद्योग संचालनमा छन् भने करिव हजारभन्दा बढी व्यक्तिहरु विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् ।
साधारणसभामा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण भण्डारी, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष दिपक खड्का, मिथिला नगरपालिका ६ का वडाअध्यक्ष नन्दकिशोर यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।