स्वागतम खबर
महेन्द्रनगर, बैशाख १३ ।
धनुषा परवाहाका वर्ष १९ वर्षीय विद्यार्थी आशिष मिश्राले तुर्कमेनिस्तानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक हात पार्न सफल भएका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक हात पार्न सफल मिश्र पहिलो नेपाली हुन् । पहिलो पटक अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा नेपाली विद्यार्थीले सहभागिता जनाएको र पहिलो पटकमै मिश्रले कास्य पदक हात पार्न सफल भएका छन् ।
३० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट ६ जना विद्यार्थीले भाग लिएका थिए । नेपालका तर्फबाट दार्चुलाका आयुष ढुंगाना, गुल्मीका आयुष मरासिनी, धनुषाका आशिष मिश्रा, भक्तपुरका सुहित ढुंगाना, काठमाडौंका प्रकाश आचार्य र शुभम श्रेष्ठले भाग लिएका थिए ।
अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा करिब तीन सय भन्दा बढी विद्यार्थीहरूबीच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा भएको थियो । म्याथमटिक्स एसोशिएशन अफ नेपालका केन्द्रीय सह कोषााध्यक्ष डा. सरस्वती आचार्यको नेतृत्वमा यही बैशाख ६ गते तुर्कमेनिस्तान गएको नेपाली टोली १४ गते आईतवार नेपाल फर्किन लागेको हो ।
यो सँगै अब फेरी मिश्र ९ जुलाईदेखि २१, २०२५ सम्म अष्ट्रेलियामा आयोजना हुन लागिएको ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा समेत भाग लिन जाने छन् ।
सो ओलम्पियाडमा सहभागीताका लागि ६ जना नेपाली विद्यार्थीको नाम चयन भईसकेको र त्यहाँ जाने प्रक्रिया थालिएको म्याथमटिक्स एसोशिएशन अफ नेपालले जनाएको छ ।
जिल्ला र प्रदेश हुँदै संघमा कडा प्रतिस्पर्धापछि अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागीहरूको छनोट गरिएको थियो । एशोसिएशनका महासचिव छवि ढुंगानाका अनुसार धनुषाका आशिष मिश्र अब्बल एवं अनुशासित विद्यार्थी हुन् । उनको सफलता समग्र नेपालले नै गर्व गर्न लायकको विषय भएकाले आफूहरु उत्साहित भएको बताए ।