स्वागतम खबर
महेन्द्रनगर , जेठ १५ ।
डिभिजन वन कार्यालय धनुषाले पिकअप गाडीमा अवैध काठ ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई साल प्रजातिका काठसहित पक्राउ गरेको छ । बिहिबार बिहान सुराकीका आधारमा वन कर्मचारीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१, काशिपुरका प्रमोद ठाकुर, सोही ठाउँका गगन यादव र धनुषाधाम–२ का रुपेश राय रहेका छन् । तीनै जनालाई नियन्त्रणमा लिएर काठ, सवारीसाधनसहित डिभिजन वन कार्यालयमा राखिएको छ ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार धनुषाधाम–जनकपुर सडकखण्ड अन्तर्गत ठेरा चोक नजिकबाट अवैध साल जातको काठसहितको पिकअप गाडी फेला परेको हो । ज १ च ९५३ नम्बरको उक्त पिकअप गाडीमा २० थान फल्ली गरी २०.७७ क्युबिक फिट सालको काठ लोड गरिएको थियो । काठ जनकपुरतर्फ लगिँदै गर्दा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । त्यससँगै प्रदेश २–०२–००४ प ०२८५ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख सिंहले पक्राउ परेका व्यक्तिहरूविरुद्ध वन ऐनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभयो । वन कार्यालयले पछिल्ला दिनमा काठ तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँच कडा बनाएको उहाँले जानकारी दिनुभयो ।