स्वागतम खबर
ढल्केवर असार १ ।
धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अपाङ्गता समावेशी विकास तथा कार्यक्रमका लागि आवश्यक बजेट छुट्याउने प्रतिबद्धता जाहेर गरेका छन् । आइतवार विहान मिथिला नगरपालिकाको ढल्केवरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेश तथा मिथिला नगरपालिकास्तरीय अपाङ्गता पैरवी समूहको आयोजनामा अपाङ्गता समावेशी विकास तथा कार्यक्रम र बजेट बारेमा महासंघले पेश गरेको प्रस्तावना उपर छलफल गर्दै सहभागी जनप्रतिनिधी तथा वडासचिवहरुले सो प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा महासंघका रोशन न्यौपानेले समावेशी विकास तथा कार्यक्रम र बजेट बारेमा पेश गरेका प्रस्तावना उपर छलफल गर्दै जनप्रतिनिधी तथा वडा सचिवहरुले अगामी वर्षमा वडास्तरबाट समेत कार्यक्रम र बजेट व्यवस्थापन गर्ने बताएका छन् ।
छलफल बैठकलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका उप मेयर सुनितासिंह बुढाथोकीले अपाङ्गता समावेशी विकास तथा कार्यक्रमका लागि केही कार्यक्रम र बजेट राखेपनि विविध कारण लक्षित वर्गमा खर्च गर्न नसकेको दुखेसो पोख्नुभयो । नगरस्तरीय अपाङ्गता समन्वय समितिको संयोजक समेत रह्नुभएका उपमेयर बुढाथोकीले चालु आर्थिक वर्षको केही शिर्षकमा थोरै बजेट र कार्यक्रम राखेको भएपनि नगरपालिकाको आन्तरिक विवादका कारण बजेट सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, –‘मेरो विगत तीन वर्षको कार्यकालको अनुभवले यो मिथिला नगरपालिका आफै अपाङ्गताको अवस्थामा पुगेको छ, यो पालिकालाई अपाङ्गता बनाइएको छ जसको कारण अपाङ्गता समावेशी विकास र कार्यका लागि छुट्याएको बजेट समेत खर्च हुन नसकेको दुखदायी अवस्था छ ।’ आफुले थुप्रो योजना र बजेट अघि सारेको भएपनि नगर प्रमुखको एकलौटीका कारण लक्षित वर्गका लागि राखिएको कार्यक्रम र बजेट खर्च गर्न समस्या भईरहेको उपमेयरको आरोप थियो । उहाँले आफुले कार्यक्रम, योजना र बजेट राख्ने तर चलाउने बेला अरुले बजेट चलाई दिने, आफुलाई जानकारी समेत नदिने, पालिकाका शाखा सम्बद्ध कर्मचारीहरु पनि एकलौटी ढंगले एकल निर्णयको शिकार भएको र अरु कसैको कुरा सुन्न नचाहेकोले पनि पालिकामा अपाङ्गताको अवस्था सिर्जना भएको दावी गर्नुभयो ।
उपमेयर बुढाथोकीले अगामी आर्थिक वर्षका लागि अपाङ्गता समावेशी विकास र कार्यका लागि महासंघ तथा नगरस्तरीय अपाङ्गता पैरवी समूहले पेश गरेको कार्यक्रम सराहनीय रहेकोले आफुले सक्दो योजना र बजेट नीति तथा कार्यक्रममा राख्ने प्रतिबद्धता समेत जनाउनु भयो । पालिकाको सबै कुरा ठिकैठाक चल्यो भन्ने अगामी वर्ष अपाङ्गता समावेश विकासका लागि कार्यक्रम र बजेट प्राथमिकतामै राखेर परिचालन गर्ने उहाँको भनाई थियो ।
यता सोही कार्यक्रम सहभागी मिथिला नगरपालिकाका वडाअध्यक्ष र वडासचिवहरुले पनि वडास्तरबाटै अपाङ्गता समावेश विकासका लागि योजना कार्यक्रम र बजेट राखेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा मिथिला नगरपालिका वडा नं. २ का अध्यक्ष विहारी महतो, वडा नं. ६ का अध्यक्ष नन्दकिशोर यादव, ७ का वडाअध्यक्ष रामबहादुर स्यांग्दन, ८ का वडाअध्यक्ष विरेन्द्र महतो, ८ का अध्यक्ष दिपकजंग थापा, १० का वडाअध्यष सविन विक्रम थापा लगायत वडासचिवहरु, नगरस्तरीय अपाङ्गता पैरवी समूहका संयोजक दिपिका लामा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा द एशिया फाउण्डेशनका मञ्जु विश्वकर्मा, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका रोशन न्यौपाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका व्यवस्थापक प्रकाश नेपालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा महासंघले स्थानीय सरकारले अपाङ्गता समावेशी विकास र कार्यका लागि गर्न सक्ने कार्य तथा योजनाहरुको बुँदागत रुपमा विस्तृत योजनाहरु पेश गरेको थियो ।
मिथिला नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत र खण्डीकृत तथ्यांकको अभाव अभपनि २०७८ सालको जनगणनाका अनुसार कुल जनसंख्याको १.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुको बसोबास रहेको छ ।