स्वागतम खबर
सर्लाही, साउन ३१ ।

सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । शिक्षक यादवमाथि गएराति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यता शिक्षकलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् तर प्रहरीले उनको नाम सार्वजनिक भने गरेको छैन । गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका ती व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ परेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
यता गोली प्रहार घटनामा संलग्न फरार केही व्यक्तिको खोजी भरहेको प्रहरीले जनाएको छ ।