स्वागतम खबर
महाेत्तरी, साउन ३१ ।

समाजमा एक ठुला समस्या र चुनाैतीकाे रुपमा बढ्दै गईरहेकाे लागू पद्वार्थ दुर्व्यसनीलाई पुन स्वस्थ जिवनमा फर्काउने उदेश्य सहित सरकारी स्तरबाट महाेत्तरीकाे गाैशालामा शनिवारदेखि सुधार केन्द्र संचालनमा आएकाे छ । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित सोनी खोलाको किनारमा नेपालकै पहिलो सरकारी स्वामित्वको सुधार केन्द्र शनिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। सुधार केन्द्रकाे उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेका हुन् ।
यो केन्द्र स्थापना गर्ने पहल २०७८ माघ २८ गते तत्कालीन गृह, सञ्चार तथा कानुन मन्त्री भरतप्रसाद साहले गरेका थिए। झन्डै ८४ लाख लागतमा निर्माण भएको केन्द्रको सिलान्यास साहकै हातबाट भएको थियो। मन्त्री साहले उद्घाटन कार्यक्रममा भने, “युवाहरूमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसन रोकथामका लागि सुधार केन्द्र अपरिहार्य भएको हो। यसलाई समयमै नियन्त्रण नगर्ने हो भने देशमै गम्भीर संकट उत्पन्न हुनसक्छ ।”

हाल ३५ बेड क्षमताको यो सुधार केन्द्रलाई क्रमशः १०० बेडसम्म विस्तार गर्ने योजना रहेको र विपन्न, गरिब तथा दलित समुदायका लागि पूर्ण निःशुल्क सेवा उपलब्ध गराइने मन्त्री साहले जानकारी दिए। साथै उनले भने, “यी कार्यहरूले समाजमा अन्धकारबाट उज्यालोतर्फ फर्काउने बाटो खोल्छन्। यदि राज्यका अगुवाहरूले यस्तो दयालु कार्य निरन्तर गर्दै गए भने, देशमा नयाँ पुस्ता स्वस्थ, सक्षम र उज्ज्वल भविष्य निर्माण गर्नेछ।”
मन्त्री लेखीले भने,“यो काम मधेश प्रदेशकै गौरव हो। यसलाई अझ प्रभावकारी बनाएर देशकै नमुना सुधार केन्द्रको रूपमा स्थापना गर्ने हाम्रो प्रतिबद्धता छ। आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नेछौं । साथै यो सुधार केन्द्रको लागि एक चार चके गाडी पनि आब्यस्क्ता रहेको छ यो पनि छिटै दिने उनले बताए ।”
गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतोले नगरपालिकाबाट हालै मात्र २५ लाख रुपैयाँको बजेट विनियोजन गरी भौतिक संरचना निर्माणमा सहयोग गरिएको जानकारी दिँदै भने,“यो सुधार केन्द्र गौशालाको मात्र नभई समग्र देशकै सम्पत्ति हो। यसलाई निरन्तर सहयोग गर्ने जिम्मेवारी मेरो रहनेछ।”
कार्यक्रममा मन्त्री लेखी र पूर्व मन्त्री साहका साथै गौशालाका पूर्व नगरप्रमुख शिवनाथ महतो, वर्तमान नगरप्रमुख डा. दिपेन्द्र महतो, १२ वटै वडाका अध्यक्ष र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।