तीनै तहमा दर्शनिया प्रथम

राजेश महताे

महेन्द्रनगर, भदौ ६ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा क्षीरेश्वरनाथ नगर प्याब्सनको आयोजनामा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्षीरेश्वरनाथ नगर प्याब्सनका अध्यक्ष महेश महताेको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा  विहिवारदेखि सुरु भएकाे नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार विजेताहरुलाई पुरस्कार वितरण गर्दै सम्पन्न  भएको छ ।
प्रतियोगितामा नगरभरिका निजी र सामुदायिक विद्यालयकाे सहभागिता रहेको नगर प्याब्सनका अध्यक्ष महतोले जानकारी दिनुभयो । प्रतियोगितामा ७ वटा माध्यमिक विद्यालय, ७ वटा निम्नमाध्यमिक विद्यालय र १२ वटा प्राथमिक तहको विद्यालयको सहभागिता रहेको नगर प्याब्सनले जनाएको छ ।


प्रतियोगितामा मा.वि. तर्फ दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमीले प्रथम स्थान हासिल गरेको छ भने गंगोत्री सेकेन्ड्री स्कुलले दोस्रो, श्री माध्यमिक विद्यालय दिगम्बरपुर तेस्रो र श्री माध्यमिक विद्यालय ईच्छापुर सान्त्वना स्थान ल्याएको छ ।

यस्तै नि.मा.वि. तर्फ भएको प्रतियोगितामा दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमी प्रथम, गंगोत्री सेकेन्ड्री बो. स्कुल दोस्रो, न्यू पारिजात एजुकेशनल एकेडेमी तेस्रो र सिस्टमेटिक सेकेन्ड्री बो. स्कुल सान्त्वना स्थान ल्याएको छ ।
यता प्रा.वि. तर्फको हाजिरी जवाफ प्रतियोगितामा पनि दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमी प्रथम, जनक लली ईङ्लिस बो. स्कुल दोस्रो, गंगोत्री सेकेन्ड्री बो. स्कुल तेस्रो र रुबिज सेकेन्ड्री स्कुल सान्त्वना स्थान ल्याएको प्याब्सनले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याएको विद्यालयलाई शुक्रवार एक समारोहका बीच प्याब्सनले पुरस्कार वितरण गरेकाे अध्यक्ष महतोले जानकारी दिनुभयो । हाजिरी जवाफका विजेता स्कुल र सहभागी विद्यार्थीहरुलाई शिल्ड, प्रमाणपत्र वितरण प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुकाे हातबाट वितरण गरिएकाे प्याब्सनकाे नगर सचिव रामसिठ महताेले जानकारी दिनुभयाे ।

उक्त अवसरमा क्षीरेश्वरनाथ नगरपालिका ६ का वडाअध्यक्ष विनाेद प्रसाद गुप्ता, ८ का वडाअध्यक्ष माेदकुमार महताे, प्याब्सनका पुर्व केन्द्रीय सदस्य नरेन्द्र शर्मा, मधेश प्याब्सनका निर्वतमान उपाध्यक्ष जगदिश प्रसाद सिंह, जिल्ला सदस्य कृष्ण लामा, नगर प्याब्सनका सल्लाहकार सुजित कापडि लगायत निजी र सामुदायिक विद्यालयका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

हाजिर जवाफ प्रतियोगिता क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवा बजार नजिक माेडेल ब्राईट स्कुलमा आयाेजना गरिएकाे थियाे । साे अवसरमा स्कुलका विद्यार्थीहरुद्वारा साँस्कृतिक र नृत्य कार्यक्रम गरिएकाे थियाे ।