स्वागतम खबर
ढल्केवर, भदौ ६ ।

धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा दर्जनौ स्थानीयहरुले विभिन्न पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । कुसुमविछौनाका दर्जनौ स्थानीय जनता शुक्रवार रास्वपामा प्रवेश गरेका छन् । रास्वपाको वडास्तरीय अधिवेशनको अवसरमा ५० जनाभन्दा बढी स्थानीय जनता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पार्टीका मिथिला नगरपालिकाका सभापति विजयकुमार साह जानकारी दिएका छन् ।
नवप्रवेशीहरूलाई रास्वपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झा र सांसद हरि ढकालले अबिरको टिका लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।
वडा अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले नव प्रवेशीलाई स्वागत व्यक्त गर्दै सुसाशनको संस्कार कायम राख्न आग्रह गरे । उनले पार्टी प्रवेश गरेको नव प्रवेशीहरुलाई ईगिंत गर्दै अहिले पार्टी प्रवेश गर्ने साथीलाई बेलुका फोन आउँछ । त्यो फोन उठाउने होइन, काटिदिनुहोस् । स्कुल, खानेपानी वा अन्य आयोजनाका पदाधिकारी बनाउने जस्ता आश्वासन आउन सक्छन् । तर, त्यसको झुठा भनाइमा नलाग्नुहोस् । बरु खबरदारी गर्दै भ्रष्टाचार विरुद्ध उभिन आग्रह गरेका छन् ।
त्यस्तै, रास्वपाका प्रवक्ता तथा सांसद झाले रास्वपा अन्य दल जस्तो सडक ठेक्का बाँड्ने वा विद्यालय–खानेपानी योजनामा पदाधिकारी बनाउने आश्वासन दिने पार्टी नभएको बताए । उनले भने, “हामी फरक संस्कारसहित नयाँ अभ्यास गर्दैछौँ । नागरिकका मुद्दा सदनमा उठाउँदै आएका छौँ । अब स्थानीय तहमा भएका योजनामा अनियमितता भए खबरदारी गर्न तपाईंहरू अगाडि आउनुहोस् ।”
प्रवक्ता झाले रास्वपा पुराना दलभन्दा भिन्न किसिमको राजनीतिक अभ्यासमा लागिरहेको भन्दै सुधारात्मक राजनीति र सुशासनमार्फत जनताका आशा–अपेक्षा पूरा गर्ने विश्वास दिलाए ।
मिथिला नगरपालिका–८, कुसुमबिछौनाको वडा अधिवेशन पार्टीका मिथिला नगरपालिका सभापति विजयकुमार साहको अध्यक्षतामा भएको थियो । अध्यक्ष साहले अन्य वडाहरुमा समेत रास्वपाको वडा कमिटी गठन र नव प्रवेशीहरुलाई स्वागत गर्दै विस्तार गर्ने कार्यक्रम सुरु गरिएको बताएका छन् ।