एजेन्सी, चैत ३० ।

श्रीलङ्काले चीनमा एक लाख बाँदर निर्यात गर्ने तयारी गरेको छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
यो बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएको छ ।
बाँदर बिक्रीका लागि चीनबाट आएको प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएको छैन । श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने योजना रहेको जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेको बताउनु भएको छ ।