स्वागतम खबर

जनकपुर, फागुन  ११ ।

मधेश प्रदेशमा फाल्गुन १३ गते देखि चैत ७ गतेसम्म दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । मधेश प्रदेशकाे आठवटै जिल्लाका १३६ स्थानीय तहकाे ११ हजार ३ सय ४६ वटा खोप केन्द्र, स्थास्थ्य चौकी, सामुदायिक तथा संस्थागत विद्यालयमा खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालनका लागि मधेश प्रदेशका १२ सय ७१ वटै वडाकाे खाेप केन्द्रमा १५ हजार ५ सय ४६ खाेप कार्यकर्ता र त्यतिकै संख्यामा स्वयमसेवक परिचालन गर्न लागेकाे निर्देशनालयका खाेप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिनुभयाे ।

अभियान मार्फत प्रदेशभरिका ९ महिनादेखि १५ वर्षका १९ लाख ४७ हजार १ सय ४२ जना लक्षित बालबालिकालाई खाेप लगाईने अधिकृत झाले बताउनुभयाे ।

निर्देशनालयकाे आयाेजना तथा विश्व स्वास्थ्य संगठनकाे सहयाेगमा दादुरा-रुवेला खाेप अभियान बारे पत्रकारसँग  एकदिने अभिमुखिकरण गोष्ठीलाई सहजिकरण गर्दै अधिकृत झाले साे कुराकाे जानकारी दिनुभयाे ।

साेही कार्यक्रमलाई सम्बाेधन गर्दै निर्देशनालयका श्रवण कुमार नायकले दादुरा–रुबेला रोगका महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सरकारले दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०–८१ संचालन गरेको बताउनुभयो ।
उहाँ ले ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाईने भएको हुँदा सबै सरोकारबाला निकायलाई खोप अभियानलाई सफल पारिदिन आग्रह गर्नुभयो । दादुरा संक्रमित मध्ये ७४ प्रतिशत व्यक्ति ९ महिना देखि १५ वर्ष मुनिका बालबालिका रहेकाले साे उमेर समुहलाई लक्षित गरिएकाे उहाँले बताउनुभयाे ।

मधेश प्रदेशका धनुषा, महाेत्तरी र सर्लाही जिल्लामा दादुरा- रुवेलाकाे प्रकाेप देखिएकाे निर्देशनालयले जनाएकाे छ । २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेकाे अवधीमा धनुषामा ५४ जना, महाेत्तरीमा १२३ जना र सर्लाहीमा ८७ जनामा दादुरा-रुवेलाकाे संक्रमण देखिएकाे छ । साेही अवधीमा देशभरि जम्मा १३ सय ४९ जनामा संक्रमण देखिएकाे छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकारीहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।