विनाेदकुमार महताे
ढल्केवर, भदौ ५ ।

अपाङ्गतामैत्री स्थानीय शासनका लागि धनुषाको मिथिला नगरपालिकाका नगरस्तरीय अपाङ्गता समन्वय समितिले कार्ययोजना तयार गरेको छ । अपाङ्गता समावेशी विकास सम्बन्धि छलफल गर्न लागि विहिवार बसेको समन्वय समितिका बैठकमा अपाङ्गतामैत्री स्थानीय शासनका लागि आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने नीति तथा कार्यक्रम र बजेटलाई प्राथमिकता दिँदै कार्ययोजना तयार गरिएको छ ।
मिथिला नगरपालिकाका उपमेयर तथा नगरस्तरीय अपाङ्गता समन्वय समितिका संयोजक सुनितासिंह बुढाथोकीको अध्यक्षतामा भएको सो बैठकमा अपाङ्गतामैत्री स्थानीय शासनका लागि १९ बुँदे प्रतिबद्धतामाथि क्रमशः छलफल गर्दै चालु आ.व.मा पुरा गर्न सकिने विषयलाई समेटेर कार्ययोजना बनाइएको बताइएको छ ।


कार्य योजना अनुसार नगरपालिकाले चालु आ.व.को लागि बनाएको बजेट, नीति, कार्यक्रममा सबै बिषयगत समितिले अपाङ्गता भएको ब्यक्ति-बिषयबस्तु समावेश गर्ने, अपाङ्गताको क्षेत्रमा विनियोजित बजेट नगरस्तिरय अपाङ्गता संजाल -अपाङ्गता भएका ब्यक्तिहरुको संस्था (OPD) को माध्यमबाट परिचालन गर्न सहजिकरण गर्ने, पालिका भित्र अन्तरशाखा समन्वय गर्नका लागि समन्वय मुलप्रवाहिकरण निर्देशिका जारी गर्ने, योजना तर्जुमा गर्दा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको छुट्टा छुट्टै अवस्था विश्लेषणको आधारमा आवश्यकता पहिचान गरी सो अनुसारको कार्यक्रम तय गर्ने, स्थानीय स्तरका समूहहरुमा ( सामुदायिक संस्था, उपभोक्ता समूह, युवा समुह, बाल समुह, महिला समुह आदि) अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउन पहल गर्ने-निर्देशन गर्ने, बित्तिय संस्था-सहकारीमा कम्तिमा एक जना अपाङ्गता भएका ब्यक्तिलाई रोजगारी दिनका लागी समन्वय, सहकार्य, पैरवि, निर्देशन दिने, अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य बिमाको सुबिधा प्रदान गर्ने नीति तथा कार्यक्रम बनाउने लगायतको १९ बुँदे प्रतिबद्धतामा सहमति जनाउँदै कार्ययोजनामा समेटिने उपमेयर तथा समितिका संयोजक बुढाथोकीले बताउनुभयो ।


बैठकमा पालिकामा गत आ.व.मा अपाङ्गता समावेशी विकास सम्बन्धि अपाङ्गता समन्वय समितिले गरेका कार्य र उपलब्धीको विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।
धनुषाको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र द एशिया फाउण्डेशको सहयोग एंव मिथिला नगरपालिकाको समन्वयमा सो छलफल भएको छ ।
छलफल बैठकमा मिथिला नगरपालिकाका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारी, शिक्षा शाखा प्रमुख सीता काफ्ले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकका शाखाका प्रमुख शिला महतो, द एसिया फाउण्डेशनका मञ्जु विश्वकर्मा सहित अपाङ्गता समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।